गजकेशरी योग
मेष लग्न
यस लग्नमा गुरु बृहस्पति र चन्द्रमाको युतिलाई शुभ फलदायी मानिन्छ। यस लग्नमा यी दुबै ग्रहको शुभ स्थिति चतुर्थ भावमा हुन्छ। द्वितीय र पाँचौ भावमा पनि गुरु बृहस्पति र चन्द्रमाको युतिलाई शुभकारी नै मानिन्छ।
वृष लग्न
यस लग्नमा चन्द्र उच्चको र आठौं घरको स्वामी पनि हुन्छ। त्यसैले यस लग्नमा यी दुबै ग्रहको योग सिर्जना हुनाले गजकेशरी योगको शुभ फल प्राप्त हुन्छ। यस लग्नमा यस योगबाट विपरीत राजयोगको निर्माण हुने भएकाले पनि यो महत्त्वपूर्ण हुन्छ
मिथुन लग्न
यस लग्नमा गुरु धनु राशिमा भएको अवस्थामा मात्र गजकेशरी योग फलवान् हुन्छ। किनभने त्रिकोण राशिमा रहनाले बृहस्पतिको केन्द्राधिपति र सप्तमाधिपति हुँदाको दोष प्रभावहीन हुने गर्दछ।
कर्कट लग्न
यस लग्नमा गुरु षष्ठेश र भाग्येश भएर बस्दछ। यदि लग्नपति चन्द्रमा लग्नमा छ र गुरु बृहस्पति मेष राशिमा छन् अथवा बृहस्पति कर्कटमा र चन्द्रमा मेषमा छन् भने पनि उत्तम गजकेशरी योगको निर्माण हुन्छ, जसले जातकलाई शुभ फल प्रदान गर्दछ।
सिंह लग्न
सिंह लग्नको कुण्डलीमा गजकेशरी योग तब मात्र शुभफलदायी हुन्छ जब गुरु मीन राशिमा रहेको हुन्छ र चन्द्रमा धनु राशिमा अवस्थित हुन्छ। अन्य स्थितिमा यो योग कमजोर हुने गर्दछ।
कन्या लग्न
यस लग्नमा देवगुरु बृहस्पति आफ्नो राशिमा बसेको अवस्थामा मात्र ऊ केन्द्राधिपति दोषबाट मुक्त हुन्छ। गुरु बृहस्पति आफ्नो घरमा छ र चन्द्रमा पनि बृहस्पतिकै घरमा बस्दछ भने यसबाट सिर्जना हुने गजकेशरी योग प्रभावशाली हुन्छ, जसले व्यक्तिलाई गुणवान् बनाउँदछ र ऊ वैभवशाली पनि बन्दछ।
तुला लग्न
यस लग्नको कुण्डलीमा गजकेशरीको पूर्ण फल प्राप्त हुँदैन तर कर्कट राशिमा गुरु बृहस्पति छन् र मकर राशिमा चन्द्रमाको उपस्थिति छ भने केही शुभ फलको आकाङ्क्षा गर्न सकिन्छ। यद्यपि तुला लग्नमा गुरु बृहस्पति र चन्द्रमाको केन्द्रस्थ युति बन्नाले 'हंस योग'को सिर्जना हुनेहुँदा यसबाट चाहिं अत्यन्त शुभ फल मिल्ने गर्दछ।
वृश्चिक लग्न
यस लग्नको कुण्डलीमा देवगुरु बृहस्पति दोस्रो र पाचौं भावको मालिक हुने गर्दछ। जबकि चन्द्रमा भाग्य स्थानको मालिक हुन्छ। यस्तो कुण्डलीमा लग्नमा देवगुरु र सातौं घरमा चन्द्रमा बसेर यस योगको सिर्जना भयो भने यो योग असाध्यै शुभकारी मानिन्छ।
धनु लग्न
यस लग्नमा चन्द्र अष्टमेश हुने हुँदा गजकेशरी योगले पूर्ण फल प्राप्त गर्न सक्दैन। तर देवगुरु वृश्चिक राशिमा छ र चन्द्रमा वृष राशिमा छ भने यस योगले केही हदमा शुभ फल प्रदान गरेको देखिन्छ।
मकर लग्न
मकर लग्नको कुण्डलीमा सिर्जना हुने गजकेशरी योगबाट सामान्य फल प्राप्त हुने गर्छ, किनभने यस लग्नमा देवगुरु तेस्रो र बाह्रौं घरको मालिक हुन्छ। जबकि चन्द्रमा सातौं घरको स्वामी हुन्छ।
कुम्भ लग्न
कुम्भ लग्नको कुण्डलीमा पनि गजकेशरी योगले सामान्य फल प्रदान गर्दछ, किनकि यस्तो अवस्थामा चन्द्रमा छैटौं घरको मालिक हुन्छ। छैटौं घरलाई शुभ मानिंदैन।
मीन
मीन राशि देवगुरुको आफ्नो घर हो। यस लग्नमा गजकेशरी योगको सिर्जना हुँदा अतीव शुभकारी योग बन्ने गर्दछ। यस्तो अवस्थामा देवगुरु बृहस्पति लग्नेश र दशमेश पनि हुन्छ। जबकि चन्द्रमा पाँचौं घरको मालिक हुन्छ।

Post a Comment